एकाएक विश्वव्यापी स्वास्थ्य महासंकट बनेर उदाएको कोरोना भाइरस
महाव्याधिले विश्वलाई अभूतपूर्व आर्थिक धक्का दिँदै छ । प्रकोपको भयले केही समय ९० प्रतिशत विश्व ठप्प
बनेको छ । विश्व पर्यटन शून्यमा ओर्लियो, आपूर्तिका शृंखला
मात्रै टुटेनन्, माग पनि अभूतपूर्व रूपले संकुचित बन्न पुगेको छ ।
करोडैँ सर्वसाधारण बेरोजगार बने ।
विश्वव्यापी मन्दी सिर्जना भएको छ, यो डिप्रेसन हुँदै ‘ग्रेट डिप्रेसन’मा पुग्ने आशंकाले
तर्साउन थालेको छ । विश्व बैंकले
भनेको छ, ‘महाव्याधि
जति लम्बिन्छ, अर्थतन्त्रहरू उत्तिकै भासिँदै जानेछन् ।’ स्थिति सुधार भए यो वर्ष विश्व अर्थतन्त्र ५
दशमलव २ प्रतिशतले ऋणात्मक हुने र खराब परिदृश्यमा ८ प्रतिशतसम्म ऋणात्मक हुन
सक्ने प्रक्षेपण विश्व बैंकको छ । जुन समयावधिको
लम्बाइ र संकुचनको चौडाइ दुवैबाट ‘डिप्रेसन’को स्तर हो ।
के हो मन्दी ?
जब महिनैं वा वर्षैँ आर्थिक गतिविधि फस्टाउँदैनन्, त्यसलाई मन्दी
भनिन्छ । जब मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)
ऋणात्मक हुन थाल्छ, बेरोजगारीमा वृद्धि हुन्छ, थोक एवं खुद्रा मूल्य खस्किन्छ, लामो समय आय एवं
उत्पादनमा संकुचन हुन थाल्छ, तब मन्दी मानिन्छ । सन् १९७४ मा अर्थशास्त्री जुलियस सिस्किनले
मन्दीको परिभाषामा जिडिपीमा लगातार दुई त्रैमासिकसम्म गिरावट आए, मन्दी भन्ने ‘रुल अफ थम्ब’
ल्याएकी हुन् । सिस्किनले लगातार ६ महिनासम्म पनि अर्थतन्त्रमा
संकुचन (ऋणात्मक) आइरहे, अर्थतन्त्रमा गम्भीर समस्या अन्तरनिहित छन् भन्ने
बुझ्नुपर्ने बताएकी छिन् । यही परिभाषा अहिले
लोकप्रिय छ । नेसनल ब्युरो अफ इकोनोमिक रिसर्च
(एनबिओआर) अमेरिकामा मन्दी सुरु भएको र अन्त्य भएको घोषणा गर्ने आधिकारिक निकाय हो । एनबिओआरको आफ्नै परिभाषा छ, ‘आर्थिक गतिविधिमा
उल्लेख्य कमी, वास्तविक जिडिपी, वास्तविक आम्दानी, रोजगारी, औद्योगिक उत्पादन र थोक तथा खुद्रा
बिक्रीमा कमी मन्दीका विशेषता हुन् ।’
अहिले कुन अवस्थाको मन्दी ?
अधिकांश विकसित मुलुकले सन् २०२० को जनवरीदेखि नै अर्थतन्त्रमा
ऋणात्मक वृद्धिको साक्षात्कार गरिरहेका छन् । अप्रिलदेखि
जुनसम्मको आधिकारिक तथ्यांक सार्वजनिक भइसकेको छैन । तर, त्यस आँकडाले पहिलेको भन्दा पनि ठूलो अनुपातमा
अर्थतन्त्र खस्केको देखाउनेछ । यसको अर्थ लगातार
दोस्रो त्रैमास (६ महिना)सम्म अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुन पुग्नु हो । यसबाट विश्व नै आर्थिक मन्दीको चपेटामा पुगेको
पुष्टि हुन्छ ।
बेलायतको सरकारी खर्च निगरानी निकाय ओबिआरको अनुमानमा यो गर्मी याममा
बेरोजगारी दर दोब्बर बढेर १० प्रतिशतसम्म पुग्न सक्नेछ । अमेरिकामा गत मार्चमै १४ दशमलव ७ प्रतिशतको
उच्च बेरोजगारी पुगिसकेको थियो । तर, अहिले केही सुधार
भइरहेको छ । यो सुधारलाई सम्भावित दोस्रो संक्रमण
लहरले तुषारापात गरिदिन पनि सक्नेछ । आर्थिक मन्दीको
प्रभाव समाजका सबैलाई बराबरी पर्नेछैन । आइएलओले कम्तीमा ६
करोड सर्वसाधारण चरम गरिबीमा धकेलिने अनुमान गरेको छ । आइएलओ र युनिसेफले थप ९ करोड ६० लाख बालबालिका
जबर्जस्ती बालश्रममा धकेलिने चिन्ता गरेका छन् । यसले सामाजिक असन्तुलन बढ्नेछ । र, नयाँ आन्दोलनको सूत्रपात हुन सक्नेछ ।
अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपणअनुसार परिदृश्य खराब नभए यसै
वर्ष आर्थिक मन्दी अन्त्य हुन सक्नेछ । र, विश्व अर्थतन्त्र
फेरि पुरानै अवस्थामा फर्कन थाल्नेछ । तर, हामी सबै पहिले
कहिल्यै नभोगिएको अन्योलमा छौँ । त्यसैले आर्थिक
पुनरुत्थान कति मजबुत हुनेछ भन्ने कसैले अनुमान गर्न सक्दैन । उद्योग–व्यवसाय छिटो सञ्चालनमा आउन सके आर्थिक मन्दीको
दुष्प्रभाव केही कम हुन सक्छ । तर, समुद्री क्रुज
यात्रा, हवाईयात्रा
र व्यापारिक सम्मेलनहरू पूर्ववत् अवस्थामा फर्किनेमा अझै केही वर्ष लाग्नेछ ।
विश्वमा जति पनि मन्दी र महामन्दी भए, ती कतै न कतै मानव सिर्जित थिए । ती
मन्दीको निश्चित कारण थियो, समयावधि मानवकै हातमा निर्भर थियो । त्यसैले
तंग्रिने उपाय पत्ता लगाउन गाह्रो भएको थिएन । तर, कोरोना संक्रमणको मन्दी मानव सिर्जित होइन,
यसको समयावधि र
समाधानको उपाय पनि कुनै आकलन गर्न सकिने खालको छैन । विश्व अर्थतन्त्रलाई कुन
अवस्थामा पुर्याउनेछ भनेर अहिले अनुमान गर्न सकिने अवस्था पनि छैन ।
के कारण मन्दी हुन्छ ?
मन्दी जन्मिने धेरै कारण हुन सक्छन् । तीमध्ये यहाँ केही उल्लेख गरिएको छ ।
आकस्मिक आर्थिक झड्का : आर्थिक झड्का आकस्मिक समस्या हो, यसले गम्भीर आर्थिक
क्षति गर्छ । सन् १९७० मा ओपेकले चेतावनीविना
अमेरिकालाई तेल आपूर्ति कटौती गरिदिँदा मन्दी सुरुवात भएको थियो । तर, यो कोरोना प्रकोपले भने विश्वभरकै अर्थतन्त्रलाई
ठप्प बनाइदिएको छ । आकस्मिक आर्थिक
झड्काको जुन ताजा उदाहरण हो ।
अतिशय ऋणभार : जब कुनै व्यक्ति वा व्यवसायले अतिशय ऋण लिन्छ,
कुनै समय ऋणको साँवा–ब्याजको किस्ता यति
ठूलो हुन पुग्छ कि उनीहरूले तिर्न नसक्ने अवस्थामा पुग्छन् । र, अर्थतन्त्र धराशायी हुन्छ । सन् २००५ को हाउजिङ बबल्स (घरजग्गा मूल्य
फोका)ले विश्वलाई महामन्दीतर्फ लगेको थियो, जुन अतिशय ऋण सिर्जित मन्दीको मुख्य
उदाहरण थियो ।
एसेस्ट बबल्स (सम्पत्ति फोका) : जब भावनामा बहकिएर लगानी गरिन्छ, खराब आर्थिक परिणाम
धेरै पर हुन्न । अर्थतन्त्र मजबुत
भएका बखत लगानीकर्ता अति आशावादी भइदिन्छन् । अमेरिकी केन्द्रीय
बैंक फेडका पूर्वअध्यक्ष एलान ग्रिन्सप्यान यस प्रवृत्तिलाई ‘विवेकहीन उत्साह’
भन्छन् । सन् १९९० को दशकमा सेयर बजारमा यस्तै
अस्वाभाविक उछाल आएको थियो । जब फोका फुट्यो,
सर्वसाधारण अतालिँदै
सम्पत्ति र सेयर बेच्न थाले र बजार क्र्यास (दुर्घटना) भएर मन्दी छायो ।
अतिशय स्फीति : स्फीति (मुद्राको क्रयशक्ति कमजोर बन्ने
प्रवृत्ति) मूल्यमा वृद्धिको प्रवृत्ति हो । तर, अस्वाभाविक स्फीति
खतरनाक हुन्छ । यस्तोमा केन्द्रीय
बैंकले ब्याजको दर बढाएर स्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गर्छन् । यसबाट आर्थिक गतिविधिमा कमी आउन थाल्छ । सन् १९७० को दशकमा अमेरिकामा अनियन्त्रित
स्फीतिको दुष्चक्रलाई तोड्न फेडले तीव्र रूपमा ब्याजदर बढाएको थियो । यसले पनि मन्दी निम्त्यायो ।
अतिशय अपस्फीति : जब मुद्राको क्रयशक्ति बलियो हुन्छ, वस्तु तथा सेवाको
मूल्य धेरै ओरालो लाग्न थाल्छ, त्यसले पारिश्रमिक एवं ज्यालामा संकुचन ल्याउँछ । त्यसले फेरि मूल्यमै थप दबाब थोपर्छ र वस्तुको
मूल्य थप ओर्लिन्छ । जब यो
नियन्त्रणबाहिर पुग्छ, सर्वसाधारण र व्यवसाय दुवैले खर्च गर्न बन्द गर्छन्, यसबाट अर्थतन्त्र
खुम्चिन पुग्छ । अपस्फीतिको
नियन्त्रण स्फीतिभन्दा कठिन हुन्छ । र, यसले निम्त्याउने
मन्दी पनि उत्तिकै डरलाग्दो हुन्छ । जापान सन् १९९० को
दशकभर अपस्फीतिको स्थितिमा रह्यो र कडा मन्दीको चपेटामा पर्यो ।
प्रविधिगत परिवर्तन : नयाँ आविष्कारले उत्पादकत्व बढाएर
अर्थतन्त्रलाई सहयोग गर्छ । तर, सुरुवातको समायोजनको
अवधिमा भने त्यसले बेरोजगारी वृद्धि गरेर छोटो मन्दीमा धकेल्न सक्छ । १९औँ शताब्दीमा जब श्रममा बचत गर्ने प्रविधिगत
उन्नतिको लहर छायो, समग्र पेसाकर्मी प्रभावित भएर मन्दी छाएको थियो । अहिले पनि एआई र रोबोट प्रविधिले सबैखाले
रोजगारी खोस्दै लगेर मन्दी ल्याउन सक्ने चिन्ता केही अर्थशास्त्रीको छ ।
समृद्धितिर लम्किँदा पनि मन्दी : आर्थिक विस्तारको युगमा (समृद्धिको दिनमा)
सम्पत्तिको मूल्य तीव्र रूपले बढ्दै जान्छ र ऋणको भारी पनि ठूलो बन्दै गइरहेको
हुन्छ । कुनै पनि विस्तार वा संकुचनले एउटा
निश्चित बिन्दुमा पुगेपछि रोकिन्छ र अर्काे चक्र सुरु हुन्छ । त्यस आकस्मिक रोकावटको धक्काले सम्पत्तिको
मूल्य फोका फोड्छ, सेयर बजार क्र्यास गरिदिन्छ र ऋणको भार महँगोसाबित हुन पुग्छ । फलस्वरूपः वृद्धि खुम्चिन्छ र अर्थतन्त्र
मन्दीमा प्रवेश गर्छ ।
र, अहिले यो महाव्याधिले थुप्रै आयामबाट बृहत् अर्थशास्त्रीय सूचकांकमाथि
प्रहार गरेको छ । यसको आयाम र
विस्तार निकै व्यापक छ । त्यसैले यसले
निम्त्याउने संकट पनि अनपेक्षित हुने आकलन गरिन्छ ।
के हो महामन्दी ?
मन्दी जे–जे कारणबाट सुरु हुन्छ, महामन्दीका कारण पनि तिनै हुन् । तर, मन्दी र महामन्दीमा केही फरक छ । मन्दी अलि कम प्रभावको हुन्छ । महामन्दीको प्रभाव निकै बढी खराब हुन्छ । मन्दीमा भन्दा महामन्दीमा निकै धेरै रोजगारी
गुम्छ, जिडिपी
ठाडै ओरालिन्छ । मन्दीजस्तो महिनैँ होइन, महामन्दी
बर्षौंसम्म रहिरहन्छ । यसले पुनर्बहालीको
समय पनि लामो लिन्छ । बितेको शताब्दीमा
अमेरिकाले केवल एउटा मात्रै महामन्दी साक्षात्कार गरेको थियो, जुन सन् १९२९ देखि
१९३९ सम्मको ग्रेट डिप्रेसन (महामन्दी) थियो ।
द ग्रेट डिप्रेसन
यो सन् १९२९ मा सुरु भएर १९३३ तिरबाट सकिएको थियो । यसबाट अमेरिका द्वितीय विश्वयुद्धपछि मात्रै
तंग्रिएको हो । डिप्रेसनको यो
अवधिमा अमेरिकामा बेरोजगारी २५ प्रतिशतले वृद्धि भएको थियो र जिडिपी ३० प्रतिशतले
खुम्चिएको थियो । अमेरिकाका लागि यो
सबैभन्दा ठूलो आर्थिक नोक्सानीको अवधि रह्यो । सन् २००७ मा सुरु भएको महामन्दीबाट अमेरिकी
बेरोजगारी १० प्रतिशतले चुलिएको थियो ।
मन्दी कति लामो हुन्छ ?
एनबिइआरले अमेरिकी मन्दीलाई पहिल्याएको छ । सन् १९४५ देखि २००९ सम्मका मन्दी औसतमा ११
महिना रहेका थिए । सन् १८५४ देखि
१९१९ बीचका मन्दी औसतमा २१ दशमलव ६ महिना लामा थिए । गत तीन दशकमा अमेरिका तीनवटा मन्दीबाट
गुज्रिएको छ । सन् २००७ देखि जुन
२००९ सम्म १८ महिना लामो महामन्दी (ग्रेट रेसेसन), द डटकम रेसेसन (२००१ को मार्चदेखि
नोभेम्बरसम्म) आठ महिनाको छोटो मन्दी र सन् १९९० जुलाईदेखि मार्च १९९१ सम्मको
गल्फवार रिसेसन (खाडी युद्ध) । यसको जसको सुरुवात
तेलको उच्च मूल्यका कारण भएको थियो ।
साभार: नयाँ पत्रिका

No comments:
Post a Comment