Saturday, 13 June 2020

इतिहासकै खराब महामन्दीको संघारमा विश्व : मन्दी र महामन्दी के हो ?


एकाएक विश्वव्यापी स्वास्थ्य महासंकट बनेर उदाएको कोरोना भाइरस महाव्याधिले विश्वलाई अभूतपूर्व आर्थिक धक्का दिँदै छ। प्रकोपको भयले केही समय ९० प्रतिशत विश्व ठप्प बनेको छ। विश्व पर्यटन शून्यमा ओर्लियो, आपूर्तिका शृंखला मात्रै टुटेनन्, माग पनि अभूतपूर्व रूपले संकुचित बन्न पुगेको छ

करोडैँ सर्वसाधारण बेरोजगार बने
विश्वव्यापी मन्दी सिर्जना भएको छ, यो डिप्रेसन हुँदै ग्रेट डिप्रेसनमा पुग्ने आशंकाले तर्साउन थालेको छ। विश्व बैंकले भनेको छ, ‘महाव्याधि जति लम्बिन्छ, अर्थतन्त्रहरू उत्तिकै भासिँदै जानेछन्स्थिति सुधार भए यो वर्ष विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले ऋणात्मक हुने र खराब परिदृश्यमा ८ प्रतिशतसम्म ऋणात्मक हुन सक्ने प्रक्षेपण विश्व बैंकको छ। जुन समयावधिको लम्बाइ र संकुचनको चौडाइ दुवैबाट डिप्रेसनको स्तर हो

 के हो मन्दी
जब महिनैं वा वर्षैँ आर्थिक गतिविधि फस्टाउँदैनन्, त्यसलाई मन्दी भनिन्छ। जब मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ऋणात्मक हुन थाल्छ, बेरोजगारीमा वृद्धि हुन्छ, थोक एवं खुद्रा मूल्य खस्किन्छ, लामो समय आय एवं उत्पादनमा संकुचन हुन थाल्छ, तब मन्दी मानिन्छ। सन् १९७४ मा अर्थशास्त्री जुलियस सिस्किनले मन्दीको परिभाषामा जिडिपीमा लगातार दुई त्रैमासिकसम्म गिरावट आए, मन्दी भन्ने रुल अफ थम्बल्याएकी हुन्। सिस्किनले लगातार ६ महिनासम्म पनि अर्थतन्त्रमा संकुचन (ऋणात्मक) आइरहे, अर्थतन्त्रमा गम्भीर समस्या अन्तरनिहित छन् भन्ने बुझ्नुपर्ने बताएकी छिन्। यही परिभाषा अहिले लोकप्रिय छ। नेसनल ब्युरो अफ इकोनोमिक रिसर्च (एनबिओआर) अमेरिकामा मन्दी सुरु भएको र अन्त्य भएको घोषणा गर्ने आधिकारिक निकाय हो। एनबिओआरको आफ्नै परिभाषा छ, ‘आर्थिक गतिविधिमा उल्लेख्य कमी, वास्तविक जिडिपी, वास्तविक आम्दानी, रोजगारी, औद्योगिक उत्पादन र थोक तथा खुद्रा बिक्रीमा कमी मन्दीका विशेषता हुन्
अहिले कुन अवस्थाको मन्दी ?  
अधिकांश विकसित मुलुकले सन् २०२० को जनवरीदेखि नै अर्थतन्त्रमा ऋणात्मक वृद्धिको साक्षात्कार गरिरहेका छन्। अप्रिलदेखि जुनसम्मको आधिकारिक तथ्यांक सार्वजनिक भइसकेको छैन। तर, त्यस आँकडाले पहिलेको भन्दा पनि ठूलो अनुपातमा अर्थतन्त्र खस्केको देखाउनेछ। यसको अर्थ लगातार दोस्रो त्रैमास (६ महिना)सम्म अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुन पुग्नु हो। यसबाट विश्व नै आर्थिक मन्दीको चपेटामा पुगेको पुष्टि हुन्छ 
बेलायतको सरकारी खर्च निगरानी निकाय ओबिआरको अनुमानमा यो गर्मी याममा बेरोजगारी दर दोब्बर बढेर १० प्रतिशतसम्म पुग्न सक्नेछ। अमेरिकामा गत मार्चमै १४ दशमलव ७ प्रतिशतको उच्च बेरोजगारी पुगिसकेको थियो। तर, अहिले केही सुधार भइरहेको छ। यो सुधारलाई सम्भावित दोस्रो संक्रमण लहरले तुषारापात गरिदिन पनि सक्नेछ। आर्थिक मन्दीको प्रभाव समाजका सबैलाई बराबरी पर्नेछैन। आइएलओले कम्तीमा ६ करोड सर्वसाधारण चरम गरिबीमा धकेलिने अनुमान गरेको छ। आइएलओ र युनिसेफले थप ९ करोड ६० लाख बालबालिका जबर्जस्ती बालश्रममा धकेलिने चिन्ता गरेका छन्। यसले सामाजिक असन्तुलन बढ्नेछ। र, नयाँ आन्दोलनको सूत्रपात हुन सक्नेछ।  
अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपणअनुसार परिदृश्य खराब नभए यसै वर्ष आर्थिक मन्दी अन्त्य हुन सक्नेछ। र, विश्व अर्थतन्त्र फेरि पुरानै अवस्थामा फर्कन थाल्नेछ। तर, हामी सबै पहिले कहिल्यै नभोगिएको अन्योलमा छौँ। त्यसैले आर्थिक पुनरुत्थान कति मजबुत हुनेछ भन्ने कसैले अनुमान गर्न सक्दैन। उद्योगव्यवसाय छिटो सञ्चालनमा आउन सके आर्थिक मन्दीको दुष्प्रभाव केही कम हुन सक्छ। तर, समुद्री क्रुज यात्रा, हवाईयात्रा र व्यापारिक सम्मेलनहरू पूर्ववत् अवस्थामा फर्किनेमा अझै केही वर्ष लाग्नेछ
विश्वमा जति पनि मन्दी र महामन्दी भए, ती कतै न कतै मानव सिर्जित थिए । ती मन्दीको निश्चित कारण थियो, समयावधि मानवकै हातमा निर्भर थियो । त्यसैले तंग्रिने उपाय पत्ता लगाउन गाह्रो भएको थिएन । तर, कोरोना संक्रमणको मन्दी मानव सिर्जित होइन, यसको समयावधि र समाधानको उपाय पनि कुनै आकलन गर्न सकिने खालको छैन । विश्व अर्थतन्त्रलाई कुन अवस्थामा पुर्‍याउनेछ भनेर अहिले अनुमान गर्न सकिने अवस्था पनि छैन । 
 के कारण मन्दी हुन्छ
मन्दी जन्मिने धेरै कारण हुन सक्छन्। तीमध्ये यहाँ केही उल्लेख गरिएको छ 
आकस्मिक आर्थिक झड्का : आर्थिक झड्का आकस्मिक समस्या हो, यसले गम्भीर आर्थिक क्षति गर्छ। सन् १९७० मा ओपेकले चेतावनीविना अमेरिकालाई तेल आपूर्ति कटौती गरिदिँदा मन्दी सुरुवात भएको थियो। तर, यो कोरोना प्रकोपले भने विश्वभरकै अर्थतन्त्रलाई ठप्प बनाइदिएको छ। आकस्मिक आर्थिक झड्काको जुन ताजा उदाहरण हो 
अतिशय ऋणभार : जब कुनै व्यक्ति वा व्यवसायले अतिशय ऋण लिन्छ, कुनै समय ऋणको साँवाब्याजको किस्ता यति ठूलो हुन पुग्छ कि उनीहरूले तिर्न नसक्ने अवस्थामा पुग्छन्। र, अर्थतन्त्र धराशायी हुन्छ। सन् २००५ को हाउजिङ बबल्स (घरजग्गा मूल्य फोका)ले विश्वलाई महामन्दीतर्फ लगेको थियो, जुन अतिशय ऋण सिर्जित मन्दीको मुख्य उदाहरण थियो।  
एसेस्ट बबल्स (सम्पत्ति फोका) : जब भावनामा बहकिएर लगानी गरिन्छ, खराब आर्थिक परिणाम धेरै पर हुन्न। अर्थतन्त्र मजबुत भएका बखत लगानीकर्ता अति आशावादी भइदिन्छन्। अमेरिकी केन्द्रीय बैंक फेडका पूर्वअध्यक्ष एलान ग्रिन्सप्यान यस प्रवृत्तिलाई विवेकहीन उत्साहभन्छन्। सन् १९९० को दशकमा सेयर बजारमा यस्तै अस्वाभाविक उछाल आएको थियो। जब फोका फुट्यो, सर्वसाधारण अतालिँदै सम्पत्ति र सेयर बेच्न थाले र बजार क्र्यास (दुर्घटना) भएर मन्दी छायो
अतिशय स्फीति : स्फीति (मुद्राको क्रयशक्ति कमजोर बन्ने प्रवृत्ति) मूल्यमा वृद्धिको प्रवृत्ति हो। तर, अस्वाभाविक स्फीति खतरनाक हुन्छ। यस्तोमा केन्द्रीय बैंकले ब्याजको दर बढाएर स्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गर्छन्। यसबाट आर्थिक गतिविधिमा कमी आउन थाल्छ। सन् १९७० को दशकमा अमेरिकामा अनियन्त्रित स्फीतिको दुष्चक्रलाई तोड्न फेडले तीव्र रूपमा ब्याजदर बढाएको थियो। यसले पनि मन्दी निम्त्यायो।  
अतिशय अपस्फीति : जब मुद्राको क्रयशक्ति बलियो हुन्छ, वस्तु तथा सेवाको मूल्य धेरै ओरालो लाग्न थाल्छ, त्यसले पारिश्रमिक एवं ज्यालामा संकुचन ल्याउँछ। त्यसले फेरि मूल्यमै थप दबाब थोपर्छ र वस्तुको मूल्य थप ओर्लिन्छ। जब यो नियन्त्रणबाहिर पुग्छ, सर्वसाधारण र व्यवसाय दुवैले खर्च गर्न बन्द गर्छन्, यसबाट अर्थतन्त्र खुम्चिन पुग्छ। अपस्फीतिको नियन्त्रण स्फीतिभन्दा कठिन हुन्छ। र, यसले निम्त्याउने मन्दी पनि उत्तिकै डरलाग्दो हुन्छ। जापान सन् १९९० को दशकभर अपस्फीतिको स्थितिमा रह्यो र कडा मन्दीको चपेटामा पर्‍यो।  
प्रविधिगत परिवर्तन : नयाँ आविष्कारले उत्पादकत्व बढाएर अर्थतन्त्रलाई सहयोग गर्छ। तर, सुरुवातको समायोजनको अवधिमा भने त्यसले बेरोजगारी वृद्धि गरेर छोटो मन्दीमा धकेल्न सक्छ। १९औँ शताब्दीमा जब श्रममा बचत गर्ने प्रविधिगत उन्नतिको लहर छायो, समग्र पेसाकर्मी प्रभावित भएर मन्दी छाएको थियो। अहिले पनि एआई र रोबोट प्रविधिले सबैखाले रोजगारी खोस्दै लगेर मन्दी ल्याउन सक्ने चिन्ता केही अर्थशास्त्रीको छ।  
समृद्धितिर लम्किँदा पनि मन्दी : आर्थिक विस्तारको युगमा (समृद्धिको दिनमा) सम्पत्तिको मूल्य तीव्र रूपले बढ्दै जान्छ र ऋणको भारी पनि ठूलो बन्दै गइरहेको हुन्छ। कुनै पनि विस्तार वा संकुचनले एउटा निश्चित बिन्दुमा पुगेपछि रोकिन्छ र अर्काे चक्र सुरु हुन्छ। त्यस आकस्मिक रोकावटको धक्काले सम्पत्तिको मूल्य फोका फोड्छ, सेयर बजार क्र्यास गरिदिन्छ र ऋणको भार महँगोसाबित हुन पुग्छ। फलस्वरूपः वृद्धि खुम्चिन्छ र अर्थतन्त्र मन्दीमा प्रवेश गर्छ
, अहिले यो महाव्याधिले थुप्रै आयामबाट बृहत् अर्थशास्त्रीय सूचकांकमाथि प्रहार गरेको छ। यसको आयाम र विस्तार निकै व्यापक छ। त्यसैले यसले निम्त्याउने संकट पनि अनपेक्षित हुने आकलन गरिन्छ  
के हो महामन्दी ?
मन्दी जेजे कारणबाट सुरु हुन्छ, महामन्दीका कारण पनि तिनै हुन्। तर, मन्दी र महामन्दीमा केही फरक छ। मन्दी अलि कम प्रभावको हुन्छ। महामन्दीको प्रभाव निकै बढी खराब हुन्छ। मन्दीमा भन्दा महामन्दीमा निकै धेरै रोजगारी गुम्छ, जिडिपी ठाडै ओरालिन्छ। मन्दीजस्तो महिनैँ होइन, महामन्दी  बर्षौंसम्म रहिरहन्छ। यसले पुनर्बहालीको समय पनि लामो लिन्छ। बितेको शताब्दीमा अमेरिकाले केवल एउटा मात्रै महामन्दी साक्षात्कार गरेको थियो, जुन सन् १९२९ देखि १९३९ सम्मको ग्रेट डिप्रेसन (महामन्दी) थियो
 द ग्रेट डिप्रेसन
यो सन् १९२९ मा सुरु भएर १९३३ तिरबाट सकिएको थियो। यसबाट अमेरिका द्वितीय विश्वयुद्धपछि मात्रै तंग्रिएको हो। डिप्रेसनको यो अवधिमा अमेरिकामा बेरोजगारी २५ प्रतिशतले वृद्धि भएको थियो र जिडिपी ३० प्रतिशतले खुम्चिएको थियो। अमेरिकाका लागि यो सबैभन्दा ठूलो आर्थिक नोक्सानीको अवधि रह्यो। सन् २००७ मा सुरु भएको महामन्दीबाट अमेरिकी बेरोजगारी १० प्रतिशतले चुलिएको थियो 
 मन्दी कति लामो हुन्छ ?
एनबिइआरले अमेरिकी मन्दीलाई पहिल्याएको छ। सन् १९४५ देखि २००९ सम्मका मन्दी औसतमा ११ महिना रहेका थिए। सन् १८५४ देखि १९१९ बीचका मन्दी औसतमा २१ दशमलव ६ महिना लामा थिए। गत तीन दशकमा अमेरिका तीनवटा मन्दीबाट गुज्रिएको छ। सन् २००७ देखि जुन २००९ सम्म १८ महिना लामो महामन्दी (ग्रेट रेसेसन), द डटकम रेसेसन (२००१ को मार्चदेखि नोभेम्बरसम्म) आठ महिनाको छोटो मन्दी र सन् १९९० जुलाईदेखि मार्च १९९१ सम्मको गल्फवार रिसेसन (खाडी युद्ध)। यसको जसको सुरुवात तेलको उच्च मूल्यका कारण भएको थियो
साभार: नयाँ पत्रिका

No comments:

Post a Comment