सन् १७७२ को निक्षेप संकट
यो निक्षेप संकट लन्डनबाट सुरु भएर युरोपभर फैलिएको थियो । सन् १७६० को दशकमा ब्रिटिस साम्राज्यले उपनिवेश र व्यापारबाट अथाह सम्पत्ति बटुलेको थियो । त्यसबाट हौसिएर अधिकांश ब्रिटिस बैंकले कर्जा प्रवाहमा व्यापक लगानी विस्तार गर्यो । तर, जब ब्रिटिस बैंकका एक साझेदार अलेकज्यान्डर फोर्डिस आफूले बैंकबाट लिएको कर्जा नतिरी फ्रान्स भागे, त्यो खबर आगोजसरी फैलियो । सबै निक्षेपकर्ता डराएर पैसा झिक्न लागे । बैंकका अगाडि लामो लाइन लाग्न थाल्यो । यसको प्रभाव स्कटल्यान्ड, नेदरल्यान्ड हुँदै बाँकी युरोपमा पर्यो ।
द ग्रेट डिप्रेसन अफ १९२९–३९
यो २०औँ शताब्दीको सबैभन्दा खराब वित्तीय एवं आर्थिक विपत्तिमा पर्छ । ग्रेट डिप्रेसन सन् १९२९ मा वालस्ट्रिटमा सेयर बजारको क्र्यासबाट सुरु भएको थियो । त्यसपछि कमजोर अमेरिकी नीतिले मलजल गर्यो । ग्रेट डिप्रेसन लगभग १० वर्ष रह्यो । त्यसवेला बेरोजगारीको दर कीर्तिमानी बिन्दुमा पुगेको थियो । सन् १९३३ मा अमेरिकामा बेरोजगारी दर २५ प्रतिशत थियो भने जिडिपी ३० प्रतिशतले ऋणात्मक थियो ।
द ओपेक आयल प्राइस सक अफ १९७३
चौथो अरब–इजरायल युद्धमा इजरायललाई हतियार पठाउने अमेरिकी कदमविरुद्ध ओपेकका (खासगरी अरब) मुलुकले चालेको प्रतिरोधी कदमले यो संकटको सिर्जना गरेको थियो । ओपेकले एकाएक अमेरिका र उसका सहयोगी मुलुकलाई तेल निर्यात रोकिदिए । यसले ती मुलुकमा तेलको हाहाकार भयो र मूल्य अकासियो । अमेरिकालगायत प्रमुख विकसित मुलुक आर्थिक मन्दीमा धकेलिन पुगे । ती मुलुकमा उच्चस्तरको स्फीति भयो, आर्थिक वृद्धि अवरुद्ध बन्यो ।
सन् १९९७ को एसियाली वित्तीय संकट
यो संकट सन् १९९७ मा थाइल्यान्डबाट सुरु भएर पूर्वी एसियाका बाँकी मुलुक र थाइल्यान्डका व्यापार साझेदारहरूसम्म विस्तारित भएको थियो । पूर्वी एसियाली मुलुक थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिंगापुर, हङकङ र दक्षिण कोरियामा विकसित मुलुकले अन्धाधुन्ध लगानी प्रवाहित गरे । यी मुलुकले उत्साहित भएर अथाह ऋण लिए । यही ऋणले संकट ल्यायो । सन् १९९७ मा थाई सरकारले अमेरिकी डलरसँगको स्थिर विनिमय दर त्याग्नुपर्ने स्थिति पैदा भएको थियो । यसबाट एसियाली वित्तीय बजारमा हाहाकार मच्चियो र अर्बौं डलरमा वैदेशिक लगानी फिर्ता हुन थाल्यो । पूर्वी एसियाली मुलुक टाट पल्टिन सक्ने खतराबाट डराएर लगानीकर्तामा छटपटी बढ्दा त्यो विश्वव्यापी वित्तीय संकटका रूपमा फैलिएको थियो । यो अवस्था सामान्यीकरण हुन दुई वर्ष लागेको थियो ।
सन् २००७–०८ को वित्तीय संकट
यो संकटलाई सन् १९३० को गे्रट डिप्रेसनपछिको सबैभन्दा ठूलो मन्दी भनिन्छ । यसलाई महामन्दी पनि भन्ने गरिएको छ । यो समयमा विश्वको वित्तीय बजार अस्तव्यस्त बनेको थियो । अमेरिकामा घरजग्गाको ध मूल्य फोका फुट्दा लेम्यान ब्रदर्स (विश्वकै ठूलो इन्भेस्टमेन्ट बैंक) धराशायी बन्न पुगेको थियो । यो संकटले कैयैँ महत्वपूर्ण वित्तीय संस्था र व्यवसायलाई पतनको संघारमा पुर्याएको थियो । र, तिनलाई सरकारले उद्धार गर्नुपरेको थियो । यो संकट सामान्य अवस्थामा फर्किन एक दशकभन्दा बढी लागेको थियो । यसबाट खर्बौँ डलरको सम्पत्ति र करोडौँ रोजगारी गएको थियो ।
साभार: नयाँ पत्रिका

No comments:
Post a Comment