Friday, 26 October 2018

यात्राले जुराएका चार प्रेमकथा

कहीँ न कहीँ, कोही न कोही मेरो लागि बनेको छ। मलाई विश्वास छ, कुनै न कुनै दिन हाम्रो अवश्य भेट हुनेछ।’ यश चोपडाको फिल्म दिल तो पागल हैको यो संवाद धेरै प्रेमिल जोडीले धेरैपटक दोहोर्याए होलान्। उनीहरूले बुझे होलान्, त्यो सुखद संयोग जहाँ पनि हुनसक्छ। जहिले पनि हुनसक्छ। जसरी पनि हुनसक्छ। चाहे कोचाकोच बसमा सफर गर्दा होस्। चाहे हवाइजहाजमा उड्दा। चाहे पानीजहाजमा तैरिँदा। द न्यूयोर्क टाइम्सले यात्रामा भेटिएका चार जोडीको प्रेमकथा हालै प्रकाशित गरेको थियो। यात्राले जुराएका यी जोडीको प्रेम कथाः
चन्द्रगिरी


नुनिलोगुलियो

सन् २०१५ मार्च महिना। अस्टिनबाट न्यूयोर्क जान लागेको डेल्टा४०१ मा  भर्खरै बोर्डिङसुरु भयो। यात्रुहरू नम्बर हेर्दै आआफ्नो सिट खोज्दै छन्। खचाखच भिडमा अर्का यात्रुसँग सिट सट्टापट्टा गरी १४बीमा बस्न आइपुगिन्, ३२ वर्षीया अमान्दा सिदमन। उनी हातेझोला ठेगान लगाइवरी सिटमा सुस्ताउनै भ्याएकी थिइनन्। दुई औंलाबीच बोर्डिङ पास च्यापेर हस्याङफस्याङ आइपुगे, ३० वर्षीय म्याक्स म्यानक्यूसो। सिट नम्बर १४डी। 

एक सुन्दर युवकलाई सहयात्रीका रूपमा पाउँदा अमान्दाले झट्ट आफैंलाई सम्झिइन्। ऐना हेरेजस्तै भयो। हरे! यति सुन्दर केटा छेउमा बस्न आइपुगेको छ। म भने कपाल टाउकोमाथि जिङरिङ्ग मुठो पारेर बसेकी छु। अघिल्लो रातको गाजल पुछपाछ पनि पारेकी छैन। जीउ पसिनाले भिजेको छ। मेरो पसिना गनाउँछ। म आफैं सहन सक्दिनँ। पहिलोचोटि भेट्नेलाई त नाक हरक्कै पोल्छ होला। मनमनै यति सोचेपछि केही साताअघि आमाले भनेको सम्झिइन्। त्यस दिन अमान्दा दुरुस्तै यही पहिरनमा थिइन्। उनी आफूलाई यात्रामा सजिलो लाग्ने पहिरन आमालाई देखाउँदै थिइन्। आमाको प्रतिक्रिया थियो, ‘यस्तो हालतमा हिँड्दा छेउको सिटमा तेरो भविष्यको लोग्ने बस्न आइपुगे के गर्छेस् ?’ त्यो बेला अमान्दाले यसैगरी मुख बिगारेकी थिइन्, जसरी आमाको सुझाव नमान्दा अहिले उनको मुख बिग्रेको छ। उनी आएर छेउमा बसेपछि मलाई आफ्नो ल्याङफ्याङे ताल देखेर लाज लागेर आयो,’ अमान्दाले साढे तीन वर्षअघिको उक्त यात्रा सम्झँदै भनिन्, ‘सहज हुन निकै गाह्रो भयो।’ म्याक्स भने सहज थिए। 

उनले अमान्दालाई राम्ररी हेरेका पनि थिएनन्। सायद त्यही भएर, जहाज धावनमार्गमा हुइकिँदासम्म उनी मस्त निदाइसकेका थिए। जसै अमान्दाले एयरहोस्टेस डाकेर ब्लडी म्यारीअर्डर गरिन्, म्याक्सको निद्रा खुल्यो। झ्यालबाट बाहिर हेर्दा जहाजले धर्ती छाडिसकेको थियो। उनले ब्लडी म्यारीअर्डर गरेपछि मलाई पनि लाग्यो, यस्तो बेला ज्यानमा तरल ऊर्जा भर्नुले हानि गर्दैन,’ म्याक्सले भने, ‘मैले उनलाई साथ दिएँ। एयरहोस्टेससँग हामी दुवैले ब्लडी म्यारी मगायौं। त्यसपछि १४बीसँग मेरो परिचय भयो। म विस्तारै खुल्दै गएँ। उनी पनि खुल्दै गइन्। यात्राभरिमा हामी अभिन्न भइसकेका थियौं।

अमान्दा र म्याक्स सायद झिमिक्कै निदाएनन्। संयोग कस्तो पर्यो भने, दुवैले गर्मी यामको सप्ताहन्त एकै ठाउँमा बिताएका रहेछन्मोन्टक। त्यहाँका सम्झना साटफेरमै धेरै समय बित्यो। अर्को संयोग, उनीहरू दुवै म्यानहटनको सोहो क्षेत्रमा बस्दा रहेछन्। दुवैलाई म्याकडोगल सडकमा उभिएर सिकागो शैलीको पिज्जा खान मनपर्दो रहेछ।
यति संयोग जुरेपछि कुरा अघि बढ्न अरू के चाहियो? हामी एकअर्कालाई पहिलोचोटि भेटेका थियौं। तर, उही ठाउँमा बस्ने भएकाले उनका धेरै साथी र साथीका साथीहरूलाई म चिन्थेँ। मेरा पनि धेरै साथी र साथीका साथीहरूलाई उनी चिन्थिन्। यसले सायद उनलाई मप्रति विश्वास भयो,’ म्याक्सले भने।

बाँकी उडान अमान्दा र म्याक्सले नुनिलागुलियास्न्याक्सको स्वादमा अनेकानेक विषयमा गफिँदै काटे। दुवैलाई पायक पर्ने एउटा रेस्टुरेन्टमा अर्को साता भेट्ने योजना पनि बनाए। जहाज न्यूयोर्क अवतरण गर्यो। विमानस्थलको भीडभाड र अलमलमा उनीहरूले नम्बर साट्न बिर्से। फेसबुकको जमानामा फोन नम्बर नभएर के भो! म्याक्स घर पुग्दासम्म अमान्दाले उनको फेसबुक खोजीवरी मेसेन्जरमा सन्देश ठेलिसकेकी थिइन्। 

उनलाई पहिलोचोटि योजना बनाएर भेट्न जाँदा मैले बदाम उपहार लगेको थिएँ,’ म्याक्सले भने। त्यो भेटले अमान्दा र म्याक्सको सम्बन्ध अझ कसिलो बनायो। उनीहरू सँगसँगै बस्न थाले।  भेटेकाे केहि महिनामै उनीहरूले विवाह गरे ।

हरेक दिन कृतज्ञ
सन् २००६। मोर्लाय कमारा ३६ वर्षका थिए। एन्थोनी बर्क्लीक ३३ वर्ष। दुवै विद्यार्थीका रूपमा इजरायल भ्रमणमा गएका थिए। तेल अभीभ विमानस्थलको झोला लिने ठाउँमा उनीहरूले पहिलोचोटि एकअर्कालाई देखे। मुसुक्क हाँसे। अनि गफिन थाले। टुर कम्पनीले दुवै जनालाई एउटै बसमा राखिदियो। उनीहरू खुसी थिए। अबका १० दिन सँगसँगै इजरायल घुम्नेछन्। एउटै बसमा। यात्राको आधा समय बित्दासम्म उनीहरू यति घनिष्ट भइसकेका थिए, एन्थोनीले मोर्लायलाई तीन दिन लम्ब्याएर इजिप्ट जाने प्रस्ताव राखे। मोर्लाय पनि त्यसअघि इजिप्ट गएका थिएनन्। त्यहाँ पिरामिड हेर्नभन्दा एन्थोनीसँग थप तीन दिन बिताउने अवसरले मोर्लायलाई तान्यो।

उनले प्रस्ताव स्वीकार गरे। म यो केटा (एन्थोनी) सँग थप तीन दिन बिताउने प्रस्ताव सुनेर खुब उत्साहित भएको थिएँ,’ मोर्लायले भने, ‘हुन त मैले उनलाई केही दिनअघि मात्र भेटेको थिएँ। तर, कम समयमै हामी यार भएका थियौं, जसलाई म विश्वास गर्न सक्छु। आफ्नो कुरा बाँड्न सक्छु।’ यसरी कम समयमै यारहुनुको कारण के पनि थियो भने, उनीहरू दुवै समलिंगी थिए। जुन घडी उनीहरूले यो पहिचान खोले, उनीहरूको हित्तचित्त एक भयो। हामी दुवै एकअर्काप्रति आकर्षित थियौं। माया गर्न थालेका थियौं। हाम्रो यो सम्बन्ध कहाँसम्म पुग्छ भन्ने हामीलाई नै थाहा थिएन। त्यति बेलासम्म हामी दुवै जना कसैसँग आधिकारिक सम्बन्धमा बाँधिएका थिएनौं। न हाम्रो परिवारलाई नै हामी समलिंगी भएको थाहा थियो,’ मोर्लायले भने। 

यात्रा सकियो। उनीहरू न्यूयोर्क फर्के। मोर्लाय र एन्थोनीको जीवनमा त्यसपछि प्रेमको नयाँ यात्रा सुरु भयो। उनीहरूले त्यही गरे, जुन अहिलेसम्म आँटेका थिएनन्। एन्थोनीको परिवार एकदमै असल रहेछ। सहयोगी पनि। उनीहरूले हामी समलिंगी भएको सहज रूपमा लिए। मलाई सजिलै आफ्नो परिवारमा मिसाए,’ मोर्लायले भने। उनलाई आफ्नै परिवारमा भने त्यति सहज भएन। उनको परिवार आधा रुसी थियो, आधा पश्चिम अफ्रिकी। उनकी आमालाई छोराको समलिंगी सम्बन्ध स्वीकार्न करिब पाँच वर्ष लाग्यो। बुवालाई अझ बढी। सुरुमा मेरो परिवारले हाम्रो सम्बन्ध स्वीकार गरेन। मलाई एउटा कुरा सधैं थाहा थियो, उहाँहरू मलाई माया गर्नुहुन्छ र कुनै न कुनै दिन हाम्रो सम्बन्धको मर्म बुझ्नुहुन्छ। त्यो दिन खुसीखुसी हामीलाई ग्रहण गर्नुहुन्छ भन्ने मेरो भित्री विश्वास थियो,’ मोर्लायले भने, ‘आखिरमा त्यो विश्वास पूरा भयो। अहिले मेरा आमाबुवा दुवै सहयोगी हुनुहुन्छ। हामीलाई आफ्नो जीवन र परिवारको अभिन्न हिस्सा मान्नुहुन्छ।

मोर्लाय र एन्थोनीले सन् २००८ अगस्टमा क्यालिफोर्नियाको मोन्टेसिटोमा विवाह गरे। त्यति बेला क्यालिफोर्नियामा समलिंगी विवाह प्रतिबन्धित थिएन। दस वर्ष बितेको छ। आज उनीहरू न्यूयोर्क सहरमा बस्छन्। परिवार र साथीभाइको बीचमा उनीहरूलाई आफ्नो सम्बन्ध सुमधुर, स्वस्थ र सफल छ भन्ने लाग्छ। परिवारका सदस्यहरू मर्दापर्दा हामी दुवै सँगै जान्छौं। म आफैंलाई पनि ल्यूकेमिया भएको छ,’ मोर्लायले भने, ‘तर, मेरो यार सुखदुःखमा सधैं मेरो साथ छ।

सन् २०२० मा सरोगेसीबाट सन्तानको अभिभावकत्व लिने उनीहरूको योजना छ। हामीलाई अभिभावक बन्न हतार भइसक्यो। हामी एकअर्कालाई अगाध प्रेम गर्छौं। यतिका वर्ष हरेक परिस्थिति झेल्दै सँगसँगै जीवन बिताउन पाएकामा हामी हरेक दिन एकअर्काप्रति कृतज्ञ हुन्छौं,’ मोर्लायले भने।
भेटिनै थियौं, जहाँ भए पनि बारबरा वेर्नर र निक मोरिस सँगै बस्दैनन्। घर मात्र होइन, उनीहरूको सहरै बेग्लै छ। उनीहरू अरू जोडीजस्तो हरेक दिन एकअर्कालाई देख्नभेट्न पाउँदैनन्। तै उनीहरूबीच गहिरो प्रेम छ। आपसमा प्रतिबद्धता छ। , यो सम्बन्ध गाँसिएको यही सेप्टेम्बरमा सात वर्ष पूरा हुँदैछ।

हाम्रो प्रेमकथा अनौठो छ
यसको सुरुआत एउटा हवाई यात्रामा भएको थियो। हाम्रो प्रेमकथा अनौठो छ,’ बारबराले भनिन्, ‘हामी एकअर्कालाई भेट्दा ४० र ५० वर्ष हाराहारी थियौं। न हामीलाई प्रेमको खोजी थियो, न हामी नयाँ सम्बन्ध गाँस्न आतुर थियौं। हामी दुवै जिन्दगीसँग खुसी थियौं। सन्तुष्ट थियौं। तर, उनलाई भेटेपछि यस्तो लाग्यो, म उनकै प्रतीक्षामा थिएँ।

बारबरा एन्कोरेजबाट सियाटल जाँदै थिइन्। जम्मा पाँच फुट अग्ली उनले त्यस दिन खै के सोचेर हो, खुट्टा पसार्न फराकिलो ठाउँ भएको सिट लिएकी थिइन्। छेउको सिटमा एक जना अग्ला व्यक्ति बस्न आए। उनी पनि खुट्टा पसार्न मिल्ने ठाउँ खोज्दै आफ्नो भाइको सिट साटेर त्यहाँ आइपुगेका थिए।यात्रामा खासै केही भएन। जहाज सियाटल अवतरण गर्यो। उनीहरू छुट्टिए। छुट्टिँदा निक मोरिसले बारबराको नामधरि सोधेनन्। न फोन नम्बरै मागे। बारबरालाई पनि उनको बारेमा अत्तोपत्तो थिएन।
यी सहयात्री यस्तरी छुट्टिए, मानौं कहिले भेटिएकै थिएनन्। करिब एक सातापछि हुलाकबाट बारबराको नाममा एउटा कार्ड आयो। लेखिएको थियो– ‘यो कार्ड पढिरहेकी तिमी उही बारबरा हौ, जो एन्कोरेजबाट सियाटल उडानमा थियौ भनेहाई, म निक मोरिस हुँ। म तिमी आएकै जहाजमा तिम्रै छेउको सिटमा बसेको थिएँ।’ बारबरा स्ट्यामफोर्डमा बस्छिन्। निक मोरिस जोप्पामा बस्छन्। सम्पर्कलाई बसोबासले कहिले छेकेको छ र! छिट्टै उनीहरूको मन साटियो। एकअर्काप्रति गम्भीर भए। तर, बारबरालाई कामको निम्ति न्यूयोर्क बस्नुपर्ने थियो। निक भने न्यूयोर्कमा बस्न असहज मान्थे। उनीहरू आपसमा प्रतिबद्ध थिए। तै बसिरहेको ठाउँ छाड्न दुवैको निम्ति अनुकूल थिएन। मलाई लाग्यो, हाम्रो सम्बन्धको कुनै भविष्य छैन। यो यतिमै टुंगियो,’ बारबराले भनिन्, ‘म गलत थिएँ। तीन महिना एकअर्कालाई नभेटी बसेपछि एकदिन निकले मलाई फूलको गुच्छा र कार्ड पठाए।’ कार्डमा लेखिएको थियो– ‘बारबरामेरो हरेक बिहान तिमीलाई गुड मर्निङसन्देश पठाएर सुरु होस्। हरेक रात तिमीसँग फोनमा कुरा गरेर म निदाउन पाऊँ। वर्षको दुईचोटि एकएक साताको छुट्टीमा हामी सँगै घुम्न जान पाऊँ। र, कम्तीमा वर्षको छवटा सप्ताहन्त हामी सँगै बिताऊँ। तिमी मलाई यति मात्र दिन सक्छौ भने पनि म मेरो पूरा जिन्दगी तिम्रो नाममा बिताउन तयार छु।

तिमी मेरो जिन्दगीमा हुँदै नहुनुको पीडाभन्दा टाढै भए पनि साथ छौ भन्ने अनुभूतिले मात्र म खुसीखुसी जिन्दगी बिताउन सक्छु। त्यो गुडमर्निङ सन्देश, रातको फोनवार्ता, वर्षको दुईचोटि छुट्टी र छ वटा सप्ताहन्त मेरो लागि जिन्दगीकै अमूल्य क्षण हुनेछ। के तिमी मलाई यति दिन तयार छौ ?’ सात वर्ष भयो, बारबरा र निक सँगै बस्दैनन्। तर, यो अवधिमा उनीहरूको बिहानी सन्देश कहिल्यै टुटेको छैन। रातको फोनवार्ता छुटेको छैन। एकहप्ते छुट्टी र छ वटा सप्ताहन्तको बसाइ उनीहरूले बिराएका छैनन्।
उनीहरूको प्रेममा जति दुरी छ, उति नै गहिरो छ। जति असहज छ, उति अगाध छ। निकले भनेजस्तै हुँदै नहुनुको पीडाभन्दा टाढै भए पनि साथै हुनुको अनुभूतिले दुवैलाई खुसी दिन्छ। यसले उनीहरूको प्रेम अझ गाढा बनाएको छ। 

म भगवानलाई धन्यवाद दिन्छु। युनाइटेड एयरलायन्सलाई पनि धन्यवाद दिन्छु। त्यही जहाजमा हामी भेटियौं र अनौठो सम्बन्धमा गाँसियौं,’ बारबराले भनिन्, ‘यदि मैले आफू होची हुँदाहुँदै पनि खुट्टा पसार्न मिल्ने फराकिलो सिट नरोजेकी भए र निकले आफ्नो भाइसँग सिट साटेर सँगै बस्न नआएका भए, सायद हाम्रो भेट नहुन पनि सक्थ्यो।’ तर, के थाहा! भेटिनै थियो भने अर्को अवसर पनि त जुर्न सक्थ्यो!

समुद्री जहाजमा प्रेमको सफर
सन् २००५ जुलाई महिना। मिसेल नातोला १८ वर्षकी थिइन्। उनी माध्यमिक शिक्षा सकेर साथीहरूसँग बोस्टनबाट बर्मुडासम्म क्रूज‘ (समुद्री जहाज) यात्रा गर्दै थिइन्। त्यही जहाजमा थिए, १८ वर्षीय स्टिभ ओकोनल। क्रूज यात्राको पहिलो रात उनीहरूको पहिलो भेट भयो, डान्स फ्लोरमा। उनी खुब नाच्थे,’ मिसेलले सम्झिइन्, ‘उनले हाफप्यान्ट लगाएका थिए। घुँडासम्म तन्किएको मोजामा स्यान्डल उनेका थिए। पहिलोचोटि देख्दा मलाई विचित्रै लागेको थियो। हाँसो उठ्दो। म एकरत्ति आकर्षित भएकी थिइनँ। अझ मैले ऊबाट पन्छिन साथी अमान्दालाई आफू नजिक डाकेकी थिएँ।’ पहिलो भेट जस्तो भए पनि त्यसपछिका हरेक रात उनीहरू उही डान्स फ्लोरमा भेटिन थाले। जति भेट्दै गइन्, मिसेल उति स्टिभप्रति आकर्षित भइन्। चुम्बकको विपरित ध्रुवले तानेजस्तै भयो। गुरुत्वाकर्षणले खिचेजस्तो ।डान्स फ्लोरबाहिर पनि उनीहरूको भेटघाट सुरु भयो। 

कुराकानीको सिलसिला चल्यो। उनले थाहा पाइन्, स्टिभले आफ्नो बाल्यकालका अधिकांश गर्मी छुट्टी प्लाईमाउथको क्याम्पग्राउन्डमा बिताएका रहेछन्। त्यो ठाउँ उनको आमाबुवा बस्ने घरबाट दुई मिनेट मात्र टाढा थियो। विगतका दस वर्ष हामीले हरेक गर्मी याम लगभग एक माइलभन्दा कम दुरीमा बितायौं भन्ने थाहा पाउँदा म रोमाञ्चित भएँ,’ मिसेलले भनिन्। क्रूजको अन्तिम रात उनले स्टिभलाई आफ्नो फोन नम्बर टिपाइन्। त्यो बेला मैले एउटै कुरा महशुस गरेँ, पहिलो भेटमा विचित्रको लागेको यो केटासँग समुद्रबाहिर पनि भेटेर चिनजान गर्न म उत्सुक छु,’ उनले भनिन्। समुद्री यात्रा सकिएको एक सातापछि स्टिभले फोन गरे। त्यसपछिको गर्मी याममा उनीहरूबीच धेरैपटक भेट भयो। हरेकचोटि भेट्दा उनलाई यस्तो लाग्थ्यो, उनीहरू क्रूजमै सफर गर्दैछन्। हाम्रो हरेक भेट रोमाञ्चक हुन्थ्यो,’ उनले भनिन्, ‘उनको साथमा म आफूलाई अत्यन्तै सहज महशुस गर्थें।’ त्यही वर्ष सेप्टेम्बर महिनामा मिसेल बोस्टन सरिन्। स्टिभलाई भेट्नुअघि नै सुफोल्क विश्वविद्यालयले उनको आवेदन स्वीकार गरेको थियो। स्टिभ पनि बोस्टनमै बस्थे।

विश्वविद्यालय पढुञ्जेल मिसेल र स्टिभको प्रेम सम्बन्ध अझ प्रगाढ भयो। एक वर्षको त्यो सम्बन्धले उनीहरू यस्तरी गाँसिए, मानौं दुइटा जीवन एकाकार भएको छ। यसबीच उनीहरूको परिवार पनि नजिकियो। दुवैको परिवारले दुवैलाई आफ्नै सदस्यजस्तो ठान्न थाल्यो। सन् २०१२ मा मिसेल र स्टिभ सँगै बस्न थाले, आफ्नै घरमा। सन् २०१४ मार्चमा उनीहरू अर्को समुद्री यात्रामा निस्के। यतिबेला स्टिभले मिसेललाई विवाहको प्रस्ताव राखे। मिसेलले खुसीखुसी स्वीकार गरिन्। दस वर्षको प्रेम सम्बन्धपछि २०१५ सेप्टेम्बरमा उनीहरूको विवाह भयो। यो जोडी अहिले पनि बोस्टनमै बस्छ। यही अगस्ट ९ मा उनीहरूको पहिलो सन्तान छोरा जन्मिएको छ।

स्राेतः द न्यूयाेर्क टाइम्स

No comments:

Post a Comment