Monday, 18 July 2022

अनलाइनबाट विद्युत महसुल मासिक २ अर्ब भन्दा बढी संकलन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अनलाइन माध्यमबाट विद्युत महसुल संकलनमा फड्को मारेको छ। २०७४ बाट सेवा सुरु गरेको प्राधिकरणले अहिले मासिक २ अर्ब रुपैयाँसम्म अनलाइनबाटै महसुल उठाउने गरेको छ।  


अनलाइनमार्फत एउटा ग्राहकले एकपटकमा ५ लाख रुपैयाँभन्दा कम महसुल तिर्न मिल्ने व्यवस्था छ। दैनिक ५ देखि ७ करोड रुपैयाँसम्म महसुल संकलन हुने गरेको छ। १० लाख ग्राहकले अनलाइन माध्यमबाट महसुल तिर्न थालेका छन्।

डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल एपका कारण पनि ग्राहकलाई सजिलो भएको हो। प्राधिकरणका काउन्टरहरुमा नपुगी मोबाइलबाटै तिर्ने सुविधा सहज भएकाले प्रयोगकर्ता बढेका हुन्।

प्राधिकरणको कुल महसुलको करिब २५ देखि ३० प्रतिशत नियमित संकलन हुने गरेको छ। '५ लाख रुपैयाँको दायरा बढाएर १ करोडसम्म बनाउन सक्ने हो भने ठूला ग्राहकले समेत अनलाइन सुविधा उपभोग गर्न सक्ने थिए। अनलाइनमार्फत हुने महसुल संकलन अझ बढ्ने थियो, प्राधिकरणको बिलिङ तथा नेटवर्क शाखा प्रमुख रवीन्द्र श्रेष्ठले भने, हाम्रा करिब ७० प्रतिशत ग्राहक ५ लाख रुपैयाँभन्दा बढि तिर्ने खालका छन्।' 

विद्युतको महसुल डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल एपबाट तिर्न सकिन्छ। ई-सेवा, प्रभु बैंक, खल्ती, आईएमई पे, फोन पे, थैली जस्ता ११ सेवा प्रदायकमार्फत विद्युत महसुल संकलन हुँदै आएको छ। 

यस्तो छ प्राधिकरणमा अनलाइन माध्यमबाट उठेको महसुल 

२०७४ भदौदेखि चैतसम्म  -करिब ६५ करोड

२०७५ को १२ महिनामा - करिब ४ अर्ब ६० करोड

२०७६ को १२ महिनामा - करिब ८ अर्ब ७० करोड

२०७७ को १२ महिनामा - करिब ११ अर्ब ७६ करोड

२०७८ को १२ महिनामा - करिब १५ अर्ब २५ करोड

२०७९ को ३ महिनामा - करिब ४ अर्ब ६० करोड

प्राधिकरणका अनुसार हालसम्म अनलाइन माध्यमबाट ४५ खर्ब रुपैयाँ महसुल संकलन भएको छ। अनलाइन माध्यमबाट महसुल बुझाउनेमध्ये करिब ६० प्रतिशत ग्राहकले इ-सेवा प्रयोग गर्ने गरेका छन्। 

संकलित महसुल सेवा प्रदायकहरुले जम्मा गरेको भोलिपल्ट प्राधिकरणको खातामा जम्मा गर्ने गर्छन्। यदि भोलिपल्ट सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन जम्मा गर्ने गरी सम्झौता भएको श्रेष्ठले बताए।

ई-सेवाले गत असारमा देशभरका १२९ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै महसुल संकलन गर्ने तथा सबैभन्दा धेरै ग्राहकहरुले अनलाइनमार्फत महसुल तिर्ने २० वितरण केन्द्रहरुका आय प्रमुखहरुलाई सम्मान समेत गरेको छ। आगामी हरेक ३ महिनामा सम्मान गर्दै जाने घोषणासमेत गरेको छ ।

प्राधिकरणले अनलाइनमार्फत महसुल भुक्तानीलाइ गर्नेहरुलाई प्रोत्साहन गर्ने जनाएको छ। प्राधिकरणको ठूलो लगानी बिना महसुल संकलन गर्न सकिने भएकालाई अनलाइनलाइ प्राथमिकता दिन लागिएको हो। त्यस्तै ग्राहकलाई सहज हुनुका साथै महसुल उठाउन काउण्टरमा बस्ने जनशक्तिलाई अन्य क्षेत्रमा लगाउन सकिने छ। शाखाले ५ लाख रुपैयाँसम्म तिर्न मिल्ने दायरालाई १ करोड रुपैयाँसम्म बनाउन प्रस्ताव गरिएको छ। 

विजमाण्डुबाट साभार

No comments:

Post a Comment