एकपटक एकजना सन्त आफ्ना शिष्यसँग बसिरहेका थिए । एक्कासि उनको मनमा के लाग्यो कुन्नि, उनले आफ्ना सबै शिष्यलाई एउटै प्रश्न सोधे । उनले भने, ‘दुई व्यक्ति एक–आपसमा झगडा गर्दा उनीहरू एकअर्कासँग चर्को–चर्को स्वरमा किन चिच्याउँछन् ?’ शिष्यहरू केही बेर सोच्न लागे ।
त्यत्तिकैमा एउटाले भन्यो– झगडा गर्दा हामीले आफ्नो होस गुमाउँछौँ र चिच्याउन पुग्छौँ । सन्तले मुसुक्क हाँस्दै भने, ‘दुवैजना एकअर्काको यति नजिक हुँदाहुँदै पनि किन बिस्तारै बोल्दैनन् त ? किन चिच्याएको ?’ अन्य केही शिष्यले पनि जवाफ त दिए, तर सन्त सन्तुष्ट हुन सकेनन् र आफैँले जवाफ दिन थाले । उनले भने, ‘जब दुई व्यक्ति एकअर्कासँग रिसाउँछन्, त्यतिवेला उनीहरूबीच एउटा दूरी कायम हुन पुग्छ । दूरी कायम भएपछि आावाजलाई एकअर्कासँग पु¥याउन पनि चर्को बोल्नुपर्ने हुन्छ । दूरी जति बढ्दै जान्छ, स्वर पनि त्यति नै चर्को बनाउनुपर्ने हुन्छ । उनले भने– जब दुई व्यक्तिबीच प्रेम हुन्छ, ती एकअर्कासँग बडो आरामले बिस्तारै कुरा गरिरहेका हुन्छन् । प्रेमले मानिसलाई नजिक ल्याउँछ र नजिक आवाज पु¥याउन चर्को बोल्नुपर्दैन । जब मानिसबीच प्रेम झनै गहिराइमा पुग्छ, उनीहरू खासखुस गरेर पनि आफ्नो कुरा भन्न भ्याउँछन् । त्यसपछि पनि प्रेमको अर्को अवस्था हुन्छ, जहाँ खासखुस पनि गर्नुपर्दैन । एकअर्काको आँखामा हेरेरै थाहा पाउन सकिन्छ कि उसले के भन्न खोजेको हो । शिष्यतर्फ हेर्दै सन्तले भने, ‘अबदेखि हामीले बहस गर्दा के कुराको हेक्का राखौँ भने त्यसले हाम्रो मनको दूरी बढाउन नपाओस् । शान्त चित्त र मधुरो स्वरमा बोलौँ । के कुरामा ध्यान दिऊँ भने दूरी यति पनि नबढोस् कि फेरि नजिक आउन गाह्रो होस् ।
No comments:
Post a Comment